काठमाडौ, भाद्र १९ - थाइल्याण्डको बैंकक उड्ने तयारीमा रहेको नेपाल वायु सेवा निगमको विमानमा मुसा छिरेपछि उक्त उडानलाई रद्द गरेर निगमका कर्मचारीहरु मुसा खोज्नमा व्यस्त रहेका छन् ।
बिहान ९ बजे निगमको बोइङ ७५७ नाइन एन बैंकक उड्ने तयारीमा थियो । यात्रुहरुले बोर्डिङ पास लिइसकेका थिए । 'त्यतिखेरै विमान भित्र मुसा देखियो,' निगम स्रोतले जनाएको छ ।
घण्टौं लगाएर खोज्दा पनि मुसा नभेटिएपछि निगमसँग हाल रहेको एकमात्र बोइङ ग्राउण्डेड गरिएको छ । निगमको सबै अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । मुसा पक्रिन विमान भित्र पासो थापिएको छ ।काठमाडौं, भाद्र १९ - माओवादी सचिव सीपी गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले लडाकुको हतियार राखेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णयमा गल्ती भएको भनि स्वीकार गरे पार्टीभित्र देखिएको विवाद अन्त्य हुने बताएका छन् ।
दाहालपक्षीय पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले भने साँचो प्रकरणमा विज्ञप्ती निकाल्ने र सडकमा उत्रने उपाध्यक्ष मोहन वैद्यलाई कारबाही गर्ने चेतावनी आइतबार दिएका थिए ।
गजुरेलले सोमबार रिपोर्टर्स क्लवमा सञ्चारकर्मीसित कुरा गर्दै आफूहरुले विशेष समितिलाई बुझाई सकिएको साँचो फिर्ता ल्याउनु पर्छ भनेर आन्दोलन गरेको नभइ पार्टी निर्णय विपरीत काम भयो भनेर मात्रै आन्दोलन गरेको दावी गरे ।
'बुझाइसकेको साँचो फिर्ता हुँदैन भन्ने कुरा हामीलाई पनि थाहा छ । पार्टी निर्णय विपरीत भएको यो निर्णय अहिले सच्याइएन भने आगामी दिनमा झनै यस्ता निर्णयहरु हुने भएकोले विरोध गरेका हौं,' उनले भने ।
सचिव गजुरेले साँचो बुझाउने निर्णयमा गल्ती भएको स्वीकार गरे आफ्नो समूह सरकारमा सहभागी हुने र पार्टीभित्रको विवाद पनि समाप्त हुने दावी गरे ।
साँचो बुझाउने निर्णयमा आफूहरु केन्द्रीय कमिटीमा बहुमतमा रहेको भन्दै अध्यक्ष र प्रधानमन्त्रीले गल्ती स्वीकार नगरे बहुमतबाट साँचो बुझाउने निर्णय गलत थियो भन्ने कुरा पारित हुने ठोकुवा उनको थियो । 'अध्यक्ष र प्रधानमन्त्रीलाई कारबाही गर्ने हाम्रो योजना होइन, निर्णय गल्ती थियो भन्ने पुष्टि गर्नु मात्रै हो,' उनले भने ।
आफूहरुलाई पार्टीभित्र कारबाही गर्ने प्रयास पहिला देखिनै भइरहेको भन्दै गजुरेलले तीनै तत्वहरु पार्टी फुटाउनसमेत लागेको दावी गरे । उनले भने, 'हामी पार्टी फुटाउने पक्षमा छैनौं । ज-जसले पार्टीको निर्णय उल्टाउँदै हिडेका छन् उनीहरु नै पार्टी फुटाउन लागेका छन् ।'
पार्टी फुटाउन आवश्यक चालिस प्रतिशत केन्द्रीय सदस्य र सभासदहरु आफूसँग रहेको दावी गरे पनि उनले पार्टी फुटाउनु आवश्यक नभएको स्पष्ट पारे ।
पार्टीभित्र बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधरलाई शान्ति विरोधी देखाउने षड्यन्त्र भइरहेको भन्दै उनले शान्ति प्रक्रियाको ब्याख्या संकिर्ण ढंगले गर्ने गरिएकोप्रति आफूहरुको आपत्ति भएको बताए ।
कन्टेनरको साँचो बुझाउने कार्य कहिँ नभएको जात्रा हाडिगाउँको भने जस्तो हास्यास्पद भएको भन्दै उनले साँचो बुझाउने निर्णय लडाकुलाई निःशस्त्रीकरण गर्ने भएको र यस्तो कार्यले समायोजना हुनै नसक्ने ठोकुवा गरे । उनले साँचो बुझाउने निर्णयलाई जनमुक्ति सेनालाई विघठन गर्ने कार्यको संज्ञा पनि दिए ।
धोवीघाट भेलाकै भर्याङमा चढेर उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बनेको भन्दै त्यसलाई भत्काउने काम भएको उनको दावी थियो । 'धोवीघाट सामूहिक नेतृत्वको आर्दश थियो तर अब साँचो बुझाएपछि त्यो इतिहास भयो,' उनले भने ।शक्तिखोर (चितवन), भाद्र १९ - कन्टेनरको साँचो विशेष समितिलाई बुझाउँदा पार्टीको राजनीतिक तहमा विवाद उत्पन्न भए पनि माओवादी लडाकु संरचनामा भने सकारात्मक प्रभाव पारेको छ ।
लडाकुहरुले साँचो विशेष समितिलाई बुझाएर समायोजनका लागि एउटा खुड्किलो पार गरेको प्रतिक्रिया दिएका छन् । मुख्य कमाण्डरदेखि तल्लो तहसम्मका लडाकुहरुको पार्टीभित्र यसै बिषयलाई लिएर विवाद सृजना गर्नु निराधार भएको गुनासो छ ।
शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरका लडाकुहरुले समायोजन प्रक्रियालाई फेरि नलम्ब्याउन पार्टी नेतृत्व तहलाई आग्रह गरेका छन् । 'पार्टीको संस्थापन निर्णयलाई पालना गर्नु सबैको दायित्व हो,' प्रताप स्मृति बि्रगेडका सहकमाण्डर धनन्जय शर्माले कान्तिपुरसँग भने, 'पार्टीको निर्णयलाई ब्यक्तिको स्वार्थ अनुसार बदल्न मिल्दैन ।' लडाकु समायोजनका लागि आफ्नै सरकार भएका पालामा अबसर समेत भएको उनले बताए ।
अधिकांश लडाकुहरुले प्रधानमन्त्री बाबुराम भट्टराईको कामकारवाहीप्रति विश्वास देखाएका छन् । भट्टराई प्रधानमन्त्री भएकोप्रति उनकै पार्टीका लडाकुहरु कुशल र सक्षम ब्यक्तित्वको चित्रण गर्दै लडाकु समायोजन तथा पुर्नस्थापनाको काम छिट्टै टुङ्गनिेमा आशावादी देखिए । 'यो अवसरलाई विवाद खडा गर्नु आफ्नै खुट्टामा बन्चरो हाने बराबर हो,' लडाकुहरुले भनेका छन् ।
'साँचो बुझाउनु त समायोजन प्रक्रिया कै एउटा काम हो,' तेस्रो डिभिजनका प्रबक्ता जनक बिष्ट भन्छन्, 'जति विवाद भए पनि समायोजनका काम चल्दै जान्छ ।' उनले लामो समयसम्म लडाकु शिविरमा बसेर भविष्य खोजिरहेको बेलामा फटाफट काम गर्न सक्ने ब्यक्ति (भट्टराई) प्रधानमन्त्री भएकोमा सबैले सहयोग गर्नुपर्ने बताए । 'अब त संविधान निर्माण, शान्ति प्रक्रियाका टुङ्गिनुपर्ने बिषय कार्यान्वयन गर्ने यो अन्तिम मौका हो जस्तो लाग्छ,' उनी भन्छन्, 'यहि सरकारलाई सहमतीय रुप दिएर सबै दलको सहयोगमा लडाकु ब्यबस्थापन कार्य चाँडै सक्नुपर्छ ।'
आफ्नै सरकारका पालामा समायोजनका काम नरोकिने उनले दाबी समेत गरे । सबै पक्षलाई बिश्वासमा जित्न सक्ने ब्यक्ति प्रधानमन्त्रीमा पाउँदा गौरव महशुस भएको उनले सुनाए । भट्टराईको सरल र इमान्दारितालाई देख्दा शान्ति प्रक्रिया टुगिंनेमा प्रशस्त आधार रहेको उनको भनाइ थियो ।
५ दिन अघि (शुक्रबार) साँचो हस्तान्तरणपछि अधिकांश लडाकुले बर्तमान प्रधानमन्त्रीले समायोजनका काम छिटो गर्न लागेकोमा खुशी ब्यक्त गरेका थिए । लडाकुहरुले आफ्नै पार्टीको नेता प्रधानमन्त्री भएकोले मात्र नभइ भट्टराईले हिजो पार्टीमा खेलेको कुशल भुमिकाको आधारमा बढी भरोसा जागेको पनि सुनाए ।
'हामीलाई सेना समायोजनको काम सम्पन्न गर्न अघिल्लो सरकारको तुलनामा अहिले बढी नै आशा पलाएको छ,' कल्याण अनिश स्मृति बि्रगेडकी कम्पनी कमाण्डर बिरजा अधिकारी 'नमुना'ले भनिन्,'उहाँ (भट्टराई)को बौद्धिकता र समन्वकारी भुमिकाले सबै दललाई मिलाएर लैजान सक्ने आधारलाई हेर्दा समायोजन तथा पुर्नस्थापना बेलैमा टुङ्गिने बिश्वासमा छौं ।'
समायोजनका बिषयमा अनेक तर्क गरेर विवाद बढाउन नहुने तर्क कमाण्डरहरुको छ । 'साँचो समितिलाई हस्तान्तरण त समायोजन भित्रकै काम हो नि,' डिभिजन मुख्यालयका सह-कमाण्डर अशोक डिसीले भने, 'विशेष समिति मातहतमा शिविर नै गएको माघमा घोषणा भइसकेको अवस्थामा यो बिबादको कुनै अर्थ छैन् ।'
'अघिल्ला सरकारको तुलनामा बढी अहिले बढी आस लागेको छ,' डिसी भन्छन्,' यो अवस्थामा सबैले सहयोग र समर्थन गर्नुपर्छ ।' हरेक काममा संवेदनशिल हुने प्रधानमन्त्रीको बानीले यहि सरकारलाई सहमतीय सरकार बनाउन सक्ने योग्य लागेको उनले सुनाए ।
एक कमाण्डरका अनुसार, एकाध बाहेक सबैजसो लडाकु साँचो बिशेष समितिलाई बुझाएकोमा सकारात्मक रहेका छन् । 'केहिलाई ब्यक्तिगत रुपमा चित्त नबुझेको हुन सक्छ,' उनले भने, 'तर समग्रमा सबै साथीहरु खुशी छन् ।'
देशभरका ७ वटा शिविरमा १९ हजार मध्ये यहाँ ३ हजार ९ सय लडाकु रहेको डिभिजनले जनाएको छ ।काठमाडौं, भाद्र १९ - स्वतन्त्र सभासद् बबन सिंहले माओवादीका नेताहरुले सयौँ चोरीका गाडी चढिरहेको, त्यसको कर नतिरेको र दर्ता पनि नगरेको भन्दै सदनको ध्यानाकर्षण गराएका छन् ।
व्यवस्थापिका-संसदको बैठक सुरु भएलगत्तै सोमबार सभासद् सिंहले गृहमन्त्रीले कपिलवस्तु जिल्लाका प्रहरी उपरीक्षकलाई अपराधी छोड्नका लागि दबाब दिएकोसमेत उल्लेख गरे ।
बैठकमा सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादवले सार्वजनिक लेखा समितिको तेस्रो प्रतिवेदन सदनसमक्ष पेस गरे ।
सभामुख सुवासचन्द्र नेम्बाडले मन्त्रिपरिषद् गठनसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । संसदको अर्को बैठक भदौ २६ गते सोमबार ११ बजे बस्ने छ ।काठमाडौ, भाद्र १९ - नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न आफूले पहिलो प्राथमिकता दिने बताएका छन् ।
अर्थमन्त्रीको पद्भार ग्रहण गरिसकेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अर्थमन्त्री पुनले भने, “वित्तीय अनुशासन कायम गरी दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ ।”
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्री वातावरण बनाउन, औद्योगिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, युवा स्वरोजगार कार्यक्रमलाई अझ प्रभावकारी बनाउन, बेरोजगारी समस्यालाई सम्बोधन हुने खालका कार्यक्रम ल्याइने उनले बताए ।
अघिल्लो सरकारले ल्याएको बजेट पारित गर्न तपाईंको भूमिका कस्तो हुन्छ भन्ने प्रश्नको जवाफमा अर्थमन्त्री पुनले राजनीतिक सहमतिका आधारमा बजेट पारित गर्न आफूले पहल गर्ने बताए ।
माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच नयाँ प्रधानमन्त्रीको चयन हुनुपूर्व भएको चारबुँदे सहमतिमा बजेटलाई परिमार्जन गर्ने उल्लेख गरिएको छ ।
अर्थमन्त्री पुनले जनतालाई तत्काल राहत दिने कार्यक्रम तत्काल सार्वजनिक गरिने बताए । उनले भने, “म ‘पपुलिस्ट’भन्दा ‘पपुलर’ कार्यक्रम ल्याउँछु ।”
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउँदै नयाँ संविधान जारी गर्ने वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको हुँदा यसलाई सफल पार्न आफूले काम गर्ने अर्थमन्त्री पुनले वताए ।काठमाडौं, भाद्र १८ - माओवादी पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले पार्टीको निर्णय विपरीत विज्ञप्ती निकाल्ने र आन्दोलन गर्ने बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले आफ्नो गल्ती स्वीकार गरेर आत्मालोचना नगरे कारबाही हुने चेतावनी दिएका छन् ।
गजुरेलले आइतबार रिपोर्टर्स क्लवमा भने, 'अहिलेको घटना सामान्य होइन, एउटै पार्टीको लेटरप्याडमा दुई थरी विज्ञप्ती निकाल्नु सामान्य होइन । यसमा उहाँले आत्मालोचना गर्नैपर्छ । आत्मालोचना नगरे, नसच्चिए पार्टीले कारबाही गर्छ । कारवाही नगरे माओवादी पार्टीको औचित्य नै सकिन्छ ।'
अहिलेको घटनामा आत्मालोचना वा कारबाही नभए माओवादीभित्र अराजकता बढ्ने र यसले पार्टीलाई नै समाप्त बनाउने उनको ठहर थियो । उनले भने, 'उहाँले आफुलाई नसच्याए कडा कारबाही हुन्छ ।' गजुरेल अध्यक्ष दाहाल निकट हुन् ।
माओवादीभित्रको अहिलेको बहस शान्ति र संविधानलाई निष्कर्समा पुर्याउने वा नपुर्याउने भन्ने पक्षवीच रहेको भन्दै उपाध्यक्ष बैद्य समूहले सेना समायोजन र संविधाननिर्माणमा अवरोध गरिरहेको आरोप लगाए । 'दुई थरी विज्ञप्ति, चक्काजाम र मसाल जुलुसलेे उहाँहरु अहिलेको प्रक्रियाको विरोधीको रुपमा हुनु हुन्छ भन्ने पुष्टि गरेको छ,' उनले भने, 'जनता शान्तिको पक्षमा छन् भन्ने पनि प्रष्ट भएको छ ।'
उनले अहिलेको प्रक्रियाबाट क्रान्तिकारी परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल पक्षधर रहेको तर बैद्य भने अहिलेको प्रक्रियाबाट परिवर्तन हुँदैन भन्ने पक्षमा रहेकोले यस विषयमा संस्लेषण नहुँदा सम्म पार्टीमा यस्ता विवादहरु आईरहने दावी गरे ।
उनले अध्यक्ष पक्षधर दह्रो भए बैद्य समूह सानो टुक्रामा पार्टीबाट बाहिरिने सम्भावना रहेको भन्दै बैद्य पक्षका एक समूह पार्टी फुटाउन लागिपरेको दावी गरे । उनले भने, 'बैद्य समूहमा पनि पार्टी फुटाउनु पर्छ र भित्रै बसेर संघर्ष गर्नु पर्छ भन्ने दुई पक्ष रहेको भन्दै अहिलेको गतिविधि पार्टी फुटाउने पक्षको उक्साहटमा भइरहेको हो । यस्तै जारी रहे एउटा सानो टुक्रा बाहिर जान सक्छ ।'
अहिले पार्टी फुटाउने पक्ष हावी भएको उनले बताए । भने, 'स्थायी समितिको बैठकमा पनि त्यो देखिएको छ । अब बैद्य पक्ष कसरी बैठकमा प्रस्तुत हुन्छ त्यसैमा पार्टी फुट्न नफुट्ने कुरा निर्भर गर्छ ।'
उनले उपाध्यक्ष बैद्य कितावबाट क्रान्ति गर्नु पर्छ भन्ने पक्षमा रहेकोले समस्या रहेको भन्दै क्रान्ति कितावमा खोजेर कुनै पनि हालतमा हुन नसक्ने दावी गरे । उनले भने, 'कितावमा भएका पुरानै तरिकाबाट क्रान्ति गर्ने कुरा हुनसक्दैन । नयाँ र मौलिक ढंगबाट क्रान्ति सफल हुन्छ । यो कुरा बैद्यले बुझ्नु भएको छैन ।'
निर्णय फिर्ता हुन्न
पोलिटब्युरो सदस्य गजुरेलले हतियार राखेको कन्टेनरको साँचो विषेश समितिलाई बुझाउने निर्णयबाट पार्टी 'ब्याक' नहुने ठोकुवा गर्दै शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा गर्न सरकारले सबै अवरोधहरुलाई चिरेर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए । उनले भने, 'यस्ता अवरोधलाई चिर्दै सरकार अगाडि नबढ्ने हो भने माओवादी पार्टी सकिन्छ ।'
काठमाडौं, भाद्र १८ - लडाकुका हतियार भण्डारण गरिएका कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाएपछि उत्पन्न विवाद मिलाउन केन्द्रीय समिति बैठक आहृवान गरिएको छ ।
आइतबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पनि विवाद मिलाउन नसकेपछि आगामी असोज १ गतेदेखि केन्द्रीय समिति बैठक बोलाइएको हो । शनिबार साँझ बसेको स्थायी समिति बैठकमा पनि संस्थापन पक्ष र उपाध्यक्ष मोहन वैद्य समूहबीच चर्काचर्की भएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।
केन्द्रीय समितिको निर्णय नआएसम्म साँचो विवादमा बाहिर टिका टिप्पणी नगर्ने निर्णय भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । साँचो बुझाउने निर्णय फिर्ता गर्नुपर्ने वैद्य समूहको मागप्रति प्रधानमन्त्री बाबुराम भट्टराईसहित संस्थापन समूहले आपत्ति जनाएपछि बैठक निर्णयमा पुग्न नसकेको हो ।
यसअघि साँचो विवाद मिलाउन शुक्रबार बिहान बोलाइएको बैठक वैद्य पक्षधर नआएपछि स्थगित गरिएको थियो ।
कन्टेनरको साँचो बुझाउने निर्णयको विरोधमा वैद्य पक्षधर सडक आन्दोलनमा नै उत्रिएको थियो । उसले शुक्रबार बिहान देशभर एक घण्टा सडक जाम गर्यो भने साँझ मसाल जुलुस निकाल्यो ।
प्रधानमन्त्री अध्यक्ष रहेको सेना समायोजन विशेष समितिको बैठकमा माओवादीले सहमति जनाएपछि बिहीबार र शुक्रबार गरेर सात वटै लडाकु शिविरको साँचो बुझाइएको हो ।
साँचो बुझाउनु 'आत्मसमर्पण र जनसेना विघटन' गर्नुसरह भएको भन्दै वैद्यले विज्ञप्ती जारी गरेका थिए । जवाफमा अध्यक्ष दाहालले पनि बक्तब्य जारी गर्दै वैद्यको क्रियाकलाप पार्टी पद्धतिविपरीत भएको भन्दै आलोचना गरेका थिए ।
काठमाडौं, भाद्र १८ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारमा बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूह तत्काल नजाने भएको छ ।
वैद्य समूहले सरकारमा नजाने भएपछि मधेसी मोर्चा, संस्थापन र आफूपक्षीय मन्त्रीलाई प्रधानमन्त्री भट्टराईले शपथ गराएका छन् । लडाकुका हतियार भण्डारण गरिएका कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउने निर्णय फिर्ता नभएसम्म सरकारमा नजाने वैद्य पक्षको अडान छ ।
अडानका कारण उपप्रधान एवं परराष्ट्रमन्त्रीमा सिफारिस गरिएका सचिव सीपी गजुरेलको ठाउँमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शपथ लिएका छन् । आइतबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहालसहितका पदाधिकारी बसेर मन्त्री चयन गरिएको थियो ।
आइतबार नै प्रधानमन्त्रीले ऊर्जामन्त्री पोष्टबहादुर बोगटी, स्थानीय विकाशमन्त्रीमा टोपबहादुर रायमाझी, अर्थमन्त्रीमा वर्षमान पुन, भूमिसुधार मन्त्रीमा प्रभू शाह र युवा तथा खेलकुद मन्त्रीमा कमला रोकालाई शपथ खुवाए । रायमाझी र शाह भट्टराईपक्षीय हुन् भने बाँकी दाहाल पक्षीय ।
काठमाडौं, भाद्र १८ - माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ मन्त्रीले आइतबार साँझ शपथ लिएका छन् । माओवादीका ६ र मोर्चाका ७ मन्त्रीले शपथ लिएका हुन् ।
राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री बाबुराम भट्टराईले शीतल निवासमा नयाँ मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । भदौ ११ गते मधेसी मोर्चाको समर्थनमा प्रधानमन्त्री निर्वाचित भट्टराईले भोलिपल्ट आफूपछि मोर्चाका तर्फबाट विजयकुमार गच्छदारलाई उपप्रधान एवं गृहमन्त्रीको शपथ खुवाएका थिए ।
प्रधानमन्त्री भट्टराईले माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीमा शपथ गराए । बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले साँचो प्रकरण समाधान नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएपछि श्रेष्ठ प्रधान तथा परराष्ट्रमन्त्री नियुक्त भएका हुन् । यस मन्त्रालयका लागि वैद्य निकट सीपी गजुरेलको नाम यसअघि तय भएको थियो ।
यसैगरी ऊर्जामन्त्री पोष्टबहादुर बोगटी, स्थानीय विकाशमन्त्रीमा टोपबहादुर रायमाझी, अर्थमन्त्रीमा वर्षमान पुन, भूमिसुधार मन्त्रीमा प्रभू शाह र युवा तथा खेलकुद मन्त्रीमा कमला रोकाले शपथ लिए ।
यसैगरी मधेसी मोर्चाका तर्फबाट सूचना तथा सञ्चार मन्त्रीमा जयप्रकाश प्रसाद गुप्ता, भौतिक योजना तथा निर्माण मन्त्रीमा हृदयेष त्रिपाठी, सिँचाइ मन्त्रीमा महेन्द्र राय यादवले शपथ लिएका छन् । यसैगरी वन मन्त्री मो. वकील मुसलमान, कृषि नन्दनकुमार दत्त, स्वास्थ्य मन्त्रीमा राजेन्द्र महतो र विना विभागीय मन्त्रीमा राजलाल यादवले शपथ लिए ।
फोरम लोकतान्त्रिकबाट रक्षा मन्त्री सिफारिस गरिएका शरतसिंह भण्डारी र वातावरण मन्त्रीमा सिफारिस निलम बर्माले शपथ लिएनन् । यसैगरी कानुन मन्त्री सिफारिस तमलोपा नेपालका जितेन्द्र सोनर र महिला तथा बालबालिका मन्त्रीमा सिफारिस तमलोपा नेपालका दानबहादुर चौधरीले पनि शपथ लिएनन् । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय भएको छ ।
'विवादले हैन'
बाँकी चार मन्त्री अर्को चरणमा शपथ लिने महिला तथा बालबालिका मन्त्रीमा सिफारिस तमलोपा नेपालका चौधरीले जानकारी दिए । उनले मोर्चाका पाँचवटै दलबाट एक-एक जनामात्र सहभागी हुने निर्णय भएपछि बाँकीले शपथ नलिएको उनले बताए ।
'मलाई त मन्त्रालयबाट सचिवजीले फोनै गर्नुभएको थियो,' उनले भने, 'मेरो नाममात्र आएको पार्टीमा अझै छलफल हुन बाँकी छ ।' रक्षा मन्त्री सिफारिस गरिएका भण्डारीका एक सहयोगीले पनि असन्तुष्ट भएर शपथमा अनुपस्थित नरहेको दाबी गरे ।
मोर्चाका पाँचवटै दलबाट एक-एक जनामात्र सहभागी हुने भनिए पनि फोरम गणतान्त्रिकका तीनै जनाले शपथ लिए ।
काठमडौं, भाद्र १८ -
राजधानीको नेपाल ल क्याम्पसमा भएको एमालेको ताप्लेजुङ काठमाडौं सम्पर्क समितिको बैठकमा झडप भएको छ । बैठकमा विवाद भएपछि शनिबार दिउँसो झडप भएको हो । झडपमा ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चका सचिव देउमान बिष्ट गम्भीर घाइते भएका छन् । उनको मोडल अस्पतालमा उपचार भइरहेको छ । उनको करङको हाड भाँचिएको अस्पतालले जानकारी दिएको छ ।
देउमानमाथि सम्पर्क मञ्चको कारबाहीमा परेका क्षितिज थेबे, सुरेश लिम्बू र कमल शेर्पा लगायतले आक्रमण गरेको सम्पर्क समितिका एक सदस्यले बताए ।
मञ्चको १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भएको भन्दै मञ्चले सदस्य थेबेलाई कारबाही गरेर हटाएको थियो । ‘आज त्यही विषयमा छलफल भइरहेका बेला थेबे सहितका अन्यले एक्कासि आक्रमण गरे,’ उनले भने । घाइते बिष्टलाई भेट्न एमाले अध्यक्ष झलनाथ खनाल मोडल अस्पताल पुगेका थिए ।